काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले सीमासम्बन्धी विषय र सरकारको पारदर्शितालाई लिएर प्रधानमन्त्रीको भूमिकाबारे प्रश्न उठाएकी छन्।
बैठकमा बोल्दै उनले अघिल्लो राजनीतिक जिम्मेवारीका क्रममा सार्वजनिक गरिएको भनिएको ‘ग्रेटर नेपाल’ नक्सासम्बन्धी विषय अहिले किन नदेखिएको हो भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीको धारणा स्पष्ट हुनुपर्ने बताइन्।
सांसद श्रेष्ठले सीमासम्बन्धी संवेदनशील विषयहरूमा सरकारको मौनता देखिएको टिप्पणी गर्दै लिपुलेक क्षेत्रसँग जोडिएको व्यापारिक मार्गबारे कूटनीतिक पहल के भइरहेको हो भन्ने स्पष्ट जानकारी माग गरिन्।
उनले सामाजिक सञ्जालमा सार्वजनिक अभिव्यक्तिका आधारमा मात्र होइन, व्यवहारिक कूटनीतिक प्रयासमार्फत सरकारको सक्रियता देखिनुपर्ने धारणा राखिन्।
त्यस्तै, मुस्ताङमा रहेको भनिएको युरेनियम खानीबारे फैलिएका चर्चा र त्यससम्बन्धी यथार्थबारे पनि सरकारले स्पष्ट पार्नुपर्ने आवश्यकता औँल्याइन्।
सांसद श्रेष्ठले सरकारका मन्त्रीहरूको सम्पत्ति र आर्थिक पारदर्शिताबारे समेत प्रश्न उठाउँदै सुनको स्रोत तथा खरिद-बिक्रीका कागजात सार्वजनिक गर्नुपर्ने बताइन्।
उनले सुशासन र भ्रष्टाचार विरोधी प्रतिबद्धता व्यवहारमा देखिनुपर्ने भन्दै सरकारी निकाय र पदाधिकारीहरूले आफ्नो सम्पत्तिसम्बन्धी विवरण पारदर्शी बनाउनुपर्ने धारणा राखिन्।







