काठमाडौँ । सुनसरीको धरानमा प्रहरीले भारतीय नम्बर प्लेटको गाडीबाट ४९९ किलो तयारी गाँजा बरामद गरेको छ। गाडीको खानतलासीका क्रममा उक्त परिमाणमा गाँजा फेला परेपछि प्रहरीले चालकलाई समेत नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१३ का ३२ वर्षीय अजयकुमार साह रहेका छन्। प्रहरीले उनीसँगै बीआर ११ वाई ३०३९ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शनिबार राति धरान उपमहानगरपालिकाबाट इटहरीतर्फ जाँदै गरेको गाडीलाई सेउती पुलमा नियमित जाँचका क्रममा रोकिएको थियो। गाडीको खानतलासी गर्दा ४९९ किलो गाँजा फेला परेको हो।
यसैबीच, सुनसरीकै दुहबी नगरपालिका-७ बाट प्रहरीले थप २१ किलो ९८० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
शनिबार राति पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-२० का २१ वर्षीय गौरव राई रहेका छन्।
प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट गरी कुल ५२० किलो ९८० ग्राम गाँजा बरामद गरेको हो। दुवै घटनामा गरी दुई जना पक्राउ परेका छन्।





