काठमाडौँ । तत्कालीन खानेपानी तथा हालको पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीमाथि दबाब, धम्की तथा बार्गेनिङ गरेको आरोपमा पक्राउ परेका उपेन्द्रबहादुर शाहीमाथि प्रहरीले आपराधिक विश्वासघात, एक्सटोर्सन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कोणबाट अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत काठमाडौँले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार शाहीलाई सोमबार काठमाडौँबाटै नियन्त्रणमा लिइएको हो । सचिव पुडासैनीको कार्यकक्षमै पुगेर अभद्र व्यवहार तथा दबाब दिएको सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार शाहीले लामो समयदेखि कर्मचारी सरुवा, प्रशासनिक निर्णय, ठेक्का व्यवस्थापन तथा आफू निकट व्यक्तिको काम मिलाइदिन भन्दै उच्च तहका कर्मचारीसँग सम्पर्क विस्तार गर्दै आएका थिए । पछिल्लो समय मन्त्रालयअन्तर्गत केही सहसचिव र उपसचिवको सरुवापछि आफूले भनेका व्यक्तिलाई निश्चित स्थानमा मिलाउन दबाब बढाएको र त्यो पूरा नभएपछि सचिवलाई प्रत्यक्ष भेटेरै धम्काउने प्रयास भएको मन्त्रालय स्रोतको दाबी छ ।
एक सहसचिवका अनुसार शाहीले आफूले लगानी वा रकम फसेको भन्दै कर्मचारी सरुवा तथा प्रशासनिक निर्णयमार्फत सहयोग गरिदिन दबाब दिने गरेका थिए । सचिवले ती माग अस्वीकार गरेपछि मन्त्रालयमै पुगेर दबाब र धम्कीको शैली अपनाइएको ती अधिकारीले बताए । यद्यपि सचिव पुडासैनीसँग यसअघि राम्रो सम्बन्ध रहे पनि बिस्तारै आफ्नो स्वार्थ अनुकूल काम गराउन दबाब बढ्दै गएको र गर्न नसकिने प्रकृतिका विषयमा समेत निरन्तर आग्रह आउन थालेको विषय सचिवले मन्त्रालयका केही कर्मचारीसँग समेत बताउने गरेको ती सहसचिवले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई बताए ।
पछिल्लो समय सचिवबाट अपेक्षित प्रतिक्रिया नआएपछि शाही मन्त्रालयमै पुगेर धम्क्याउने शैलीमा प्रस्तुत भएको र त्यसपछि सचिवले आफूले कुनै गल्ती नगरेको भन्दै प्रहरीलाई जानकारी गराएको सचिवालय स्रोतले जनाएको छ ।
सचिवालय स्रोतका अनुसार शाहीले रकमसमेत माग गर्दै सन्देश पठाएको तथा निरन्तर सम्पर्क गरेर दबाब सिर्जना गर्न खोजेपछि प्रहरीलाई जानकारी गराइएको थियो । मन्त्रालयमै पुगेर उनले “मसँग भिडियोहरू छन्, अहिले देखाउँछु, पत्रकार सम्मेलन गर्छु” भन्दै बाहिर आएर छलफल गर्न प्रस्तावसमेत गरेको ती अधिकारीले प्रशासनलाई बताए । सचिवले आफूले कुनै गैरकानुनी काम नगरेको अवस्थामा कानुनी प्रक्रियामा जान दिएको ती अधिकारीको भनाइ छ ।
प्रहरी स्रोतका अनुसार सचिवसँग भएका टेलिफोन संवादको अडियो रेकर्ड गरी त्यसैलाई आधार बनाएर दबाब सिर्जना गर्ने प्रयाससम्बन्धी उजुरीसमेत परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता भट्टराईका अनुसार उनीमाथि एक्सटोर्सन र आपराधिक विश्वासघातअन्तर्गत अनुसन्धान भइरहेको छ ।
अनुसन्धानका क्रममा शाहीको विगत गतिविधि, प्रशासनिक पहुँच तथा आर्थिक लेनदेनसमेत अध्ययन भइरहेको प्रहरी स्रोतले जनाएको छ । विगतमा विभिन्न कर्मचारी तथा उच्च तहका अधिकारीसँग निकटता बनाएर काम मिलाइदिने, कर्मचारी व्यवस्थापनमा प्रभाव पार्ने तथा त्यसलाई आधार बनाएर आर्थिक लेनदेन गर्ने शैलीमा सक्रिय रहेको सूचनाका आधारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान पनि अघि बढाइएको स्रोतको दाबी छ ।
यसैबीच, शाहीको नाम केही समयअघि राजस्व अनुसन्धान विभागसँग अनौपचारिक प्रभाव तथा पहुँच प्रयोगको सन्दर्भमा समेत चर्चामा आएको थियो । विभागका तत्कालीन महानिर्देशक चक्र बुढाले प्रयोग गर्ने सरकारी नम्बरबाट व्यवसायीलाई फोन गरी विभागमा उपस्थित हुन भनिएको विषयले चर्चा पाए पनि त्यसबेला कुनै औपचारिक कारबाही अघि बढेको थिएन ।
सार्वजनिक बिदाको दिन विभागका महानिर्देशकले प्रयोग गर्ने सरकारी मोबाइलबाट केही व्यवसायीलाई फोन गरी राजस्व अनुसन्धानका विषयमा विभागमा उपस्थित हुन भनिएको थियो । विभागसँग आबद्ध नभए पनि महानिर्देशकसँगको नाता जोड्दै अनुसन्धानको सन्दर्भ देखाएर व्यवसायीलाई बोलाउने, छलफल गराउने र दबाब सिर्जना गर्ने प्रयास भएको भन्दै केही व्यवसायी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेका थिए ।
विभाग स्रोतका अनुसार तत्कालीन महानिर्देशक नवराज ढुंगाना कोटिभिटी विवादमा परेपछि बुढालाई विभागको नेतृत्वमा ल्याउन शाही सक्रिय रहेको चर्चा विभागभित्र हुने गरेको थियो । शाही स्वयंले पनि केही व्यवसायीसमक्ष आफूले विभाग नेतृत्व नियुक्तिमा भूमिका खेलेको दाबी गर्दै रकम असुल्ने गरेको भन्दै व्यवसायीबाट त्यतिबेला निकै गुनासो आएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्मै यो विषयले प्रवेश पाएको थियो ।







