काठमाडौँ । प्रदर्शनरत नेपाली चलचित्र ‘लालीबजार’सँग सम्बन्धित विवादमा उच्च अदालत पाटनमा न्यायिक प्रक्रिया जारी रहेको छ ।
मुद्दामाथिको सुनुवाइका क्रममा इजलासले चलचित्रको डिजिटल प्रति अध्ययन गरिरहेको अदालत स्रोतले जनाएको छ ।
न्यायाधीश टंकप्रसाद गुरुङ र अच्युत कुइँकेलको संयुक्त इजलासमा भइरहेको सुनुवाइका क्रममा चलचित्रको सफ्ट कपी मगाई प्रत्यक्ष अवलोकन गरिएको हो । अदालतले विवादसँग सम्बन्धित विषयवस्तु बुझ्नका लागि उक्त प्रक्रिया अपनाएको बताइएको छ ।
चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्का, निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई लगायत निर्माण पक्षका प्रतिनिधि अदालत परिसरमा उपस्थित रहेका छन् ।
यसअघि उच्च अदालत पाटनले चलचित्रसम्बन्धी विवादमा रोशनी वादी नेपालीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रमाणसम्बन्धी मिसिल झिकाउने आदेश दिएको थियो ।
अदालतले चलचित्रको मूल सफ्ट कपी इजलासमा प्रस्तुत गरी परीक्षणपश्चात् फिर्ता लैजान सकिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।







