काठमाडौँ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालको विद्यालय शिक्षा प्रणालीमा पहुँच विस्तार भइरहेको देखाए पनि माध्यमिक तहमा पुग्दा विद्यार्थी भर्ना दर उल्लेख्य रूपमा घट्ने प्रवृत्ति कायम रहेको देखाएको छ।
सर्वेक्षण अनुसार आधारभूत तह (कक्षा १ देखि ८ सम्म) मा खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ, जसले प्रारम्भिक शिक्षामा पहुँच सन्तोषजनक रहेको संकेत गर्छ। तर माध्यमिक तह (कक्षा ९ देखि १२ सम्म) मा भने यो दर घटेर ३५.४ प्रतिशतमा सीमित भएको देखिएको छ।
यस तथ्यांकले आधारभूत तह पूरा गरेपछि ठूलो संख्यामा विद्यार्थीले अध्ययन बीचमै छोड्ने प्रवृत्ति कायम रहेको स्पष्ट पारेको छ। साथै, वैदेशिक अध्ययन तथा रोजगारीका कारण पनि विद्यार्थी संख्या घट्दै गएको अनुमान गरिएको छ।
शिक्षा क्षेत्रको संरचनाबारे सर्वेक्षणले देशभर ३५ हजार ९५१ विद्यालय सञ्चालनमा रहेको उल्लेख गरेको छ। तीमध्ये सामुदायिक विद्यालयको हिस्सा ७१.२७ प्रतिशत रहेको छ भने निजी तथा संस्थागत विद्यालय २४.८७ प्रतिशत रहेका छन्।
विद्यार्थी वितरणका आधारमा हेर्दा कुल विद्यार्थीमध्ये ६२.२ प्रतिशत सामुदायिक विद्यालयमा अध्ययनरत छन् भने ३७.८ प्रतिशत विद्यार्थी निजी तथा संस्थागत विद्यालयमा अध्ययन गरिरहेका छन्।







