काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आवश्यक परेमा काठमाडौँमा कम्तीमा पाँच हजार व्यक्तिलाई तत्काल परिचालन गर्न सकिने संगठनात्मक आधार तयार गर्न पार्टीका जनसंगठनका इन्चार्ज तथा अध्यक्षहरूलाई निर्देशन दिएका छन्।
ललितपुरको च्यासलमा सोमबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी र नागरिकबीचको सम्बन्ध अझ मजबुत बनाउन तथा संगठनलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले संकटपूर्ण अवस्थामा संगठनलाई सक्रिय र सम्पर्कमा राख्न सक्ने क्षमता नेतृत्वको प्रमुख परीक्षा हुने उल्लेख गर्दै त्यस्ता समयमा संयम, एकता र स्पष्ट रणनीति आवश्यक पर्ने धारणा राखे। उनका अनुसार हतारमा गरिने निर्णयले संगठनलाई गलत दिशातर्फ लैजान सक्ने भएकाले सोचविचारसहित अघि बढ्नुपर्ने हुन्छ।
पोखरेलले पार्टीभित्र समस्या देखिए निराशा फैलाउनेभन्दा समाधान खोज्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। उनले तलतिरका समस्या माथि नपुर्याउने र माथिका चुनौती मात्र उजागर गर्ने प्रवृत्ति उचित नभएको उल्लेख गर्दै समस्या पहिचानसँगै समाधानमा केन्द्रित हुनुपर्ने बताए।
निर्वाचन परिणामबारे टिप्पणी गर्दै उनले अन्तिम समयसम्म प्राप्त रिपोर्ट सकारात्मक भए पनि नतिजा अपेक्षा विपरीत आएको उल्लेख गरे। उनका अनुसार जनतासँगको सम्बन्ध अझ मजबुत बनाउन नसक्दा चुनावी परिणाम प्रभावित भएको हो।
उनले जनताले तत्कालीन परिस्थितिमा विकल्प रोजे पनि दीर्घकालमा एमालेप्रति विश्वास कायम रहेको दाबी गरे।
यसैबीच, महासचिव पोखरेलले हालै सार्वजनिक भएका प्रधानमन्त्रीका अभिव्यक्तिहरूलाई आपत्तिजनक र राष्ट्रिय संवेदनशीलताविपरीत भएको टिप्पणी गर्दै यस्ता भनाइले देशको दीर्घकालीन हितमा नकारात्मक असर पार्न सक्ने चेतावनी समेत दिएका छन्।







