काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विपद् तथा आपतकालीन परिस्थितिमा सुरक्षाकर्मी र उद्धारकर्मीको भूमिका अत्यन्तै निर्णायक रहने बताएका छन्।
सर्लाहीको बागमतीमा शुक्रबार आयोजित मधेश प्रदेशस्तरीय अभ्यास ‘हातेमालो’ आठौँ संस्करण-२०८३ लाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले विपद् व्यवस्थापनमा संलग्न निकायहरूको कार्यसम्पादनको प्रशंसा गरेका हुन्।
उनले यस्ता अभ्यासहरूले आगलागी, मनसुनजन्य बाढी तथा डुबानजस्ता जोखिमपूर्ण अवस्थाहरूमा विभिन्न सुरक्षा निकायबीच समन्वय र एकीकृत परिचालनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।
मुख्यमन्त्री यादवले पछिल्ला वर्षहरूमा मनसुनजन्य विपद्को प्रभाव बढ्दै गएको उल्लेख गर्दै जलवायु परिवर्तन, असन्तुलित शहरीकरण, वन विनाश तथा नदी प्रणालीमा देखिएको असन्तुलनका कारण बाढी, पहिरो र आगलागीजस्ता घटनाको जोखिम थप गम्भीर बन्दै गएको बताए।
सोही कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले विपद् व्यवस्थापनका लागि सबै सुरक्षा निकायसँग समन्वय गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय सेवा दल (एनसिसी) को संयुक्त सहभागितामा आगलागी, बाढी तथा डुबान उद्धारसम्बन्धी प्रतिकार्य अभ्यास प्रदर्शन गरिएको थियो।
मनसुन सुरु हुनुअघि मधेश प्रदेशमा यस्ता संयुक्त अभ्यासहरू वार्षिक रूपमा आयोजना गरिँदै आएको छ।







