काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल-भारतबीच देखिएको सीमा सम्बन्धी विषयलाई कूटनीतिक माध्यम र स्थापित संयन्त्रमार्फत समाधान गर्नेबारे छलफल भएको बताएका छन्।
भारतको औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दुई देशबीचका सीमासम्बन्धी विषयमा भारतीय पक्षसँग विस्तृत छलफल भएको जानकारी दिए।
मन्त्री खनालका अनुसार सीमा विवाद समाधानका लागि पहिलेदेखि नै कूटनीतिक संयन्त्रमार्फत काम गर्ने नीति अवलम्बन हुँदै आएको छ र सोही प्रक्रियालाई निरन्तरता दिइएको छ। उनका अनुसार अहिले पनि सम्बन्धित संयन्त्रहरू सक्रिय रूपमा कार्यरत छन् र समाधान कूटनीतिक तहबाटै खोजिने सहमति रहेको छ।
उनले लिपुलेक-कालापानी हुँदै मानसरोवर जाने मार्गबारे भारत र चीनबीच भएको समझदारीका विषयमा नेपालले यसअघि नै कूटनीतिक नोट पठाइसकेको स्मरण गराए।
त्यसैगरी सीमासम्बन्धी विषयमा गठन भएका दुई पक्षीय संयन्त्रअन्तर्गत फिल्ड सर्भे टोलीले पनि आवश्यक काम अघि बढाइरहेको उनले जानकारी दिए।






