काठमाडौँ। देशका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका सयौँ उद्योगहरूले लामो समयदेखि भाडा तथा सेवा महसुल नबुझाएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता रकम तिर्न ७ दिनको समयसीमा तोकेको छ।
लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै निर्धारित समयभित्र बक्यौता रकम चुक्ता नगर्ने उद्योगहरूलाई कानुनी कारबाहीमार्फत असुलउपर गर्ने चेतावनी दिएको छ।
केन्द्रीय कार्यालय बालाजुबाट जारी सूचनाअनुसार औद्योगिक क्षेत्रभित्र सम्झौता गरी सञ्चालन भइरहेका उद्योगहरूले जग्गा, भवन, विद्युत् तथा पानी जस्ता सेवा उपयोग गरेबापतको शुल्क नियमित रूपमा बुझाउनुपर्ने भए पनि धेरै उद्योगले लामो समयदेखि भुक्तानी नगरेको पाइएको छ।
पटक–पटक लिखित पत्राचार तथा ताकेता गर्दा पनि अटेर गर्दै भुक्तानी नगरेपछि बाध्य भएर सार्वजनिक सूचना जारी गर्नुपरेको लिमिटेडले जनाएको छ।
सूचनामा समयमा रकम संकलन नहुँदा औद्योगिक पूर्वाधार विकास, मर्मतसम्भार तथा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ।
लिमिटेडले २०८३ वैशाख मसान्तसम्मको बक्यौता रकमसहित सम्बन्धित उद्योगहरूको सूचीसमेत सार्वजनिक गरेको जनाएको छ।
वक्यौता रकम असुलीको सुचना_rotated_jsxzjlp.pdf







