काठमाडौँ । नेकपा एमालेका नेता विजय सुब्बाले पार्टीभित्र देखिएका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै संगठन सुधारका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सुब्बाले पार्टीको हित चाहने र इमानदार नेताहरूलाई नेतृत्वमा स्थापित गर्न नसके एमाले थप संकटतर्फ जाने चेतावनी दिएका हुन्।
उनले आफूले पार्टी निर्माणको अभियानमा विगतदेखि नै संगठनभित्र देखिएका कमजोरी र विकृतिबारे नेतृत्वलाई पटक–पटक सचेत गराउँदै आएको दाबी गरे। पार्टीका विभिन्न अधिवेशन र छलफलका क्रममा समेत सुधारका विषय उठाउँदा आफूलाई पार्टीविरोधी अभिव्यक्ति दिएको आरोप लाग्ने गरेको उनको भनाइ छ।
सुब्बाले पार्टीभित्र रहेका समस्या समाधानतर्फ पर्याप्त ध्यान नदिई व्यक्तिगत स्वार्थ र नेतृत्व खुसी पार्ने प्रवृत्तिले स्थान पाएको टिप्पणी गरेका छन्। यस्ता गतिविधिले समस्या थपिँदै गएर वर्तमान अवस्था सिर्जना भएको उनको विश्लेषण छ।
उनले पार्टीलाई प्रभावकारी बनाउन निष्पक्ष, सक्षम र निष्ठावान् नेताहरूलाई जिम्मेवारी दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। त्यस्तो सुधार हुन नसके पार्टीको भविष्यबारे गम्भीर प्रश्न उठ्ने उनको चेतावनी छ।







