काठमाडौँ । प्रतिनिधि सभामा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गतका विभिन्न बजेट तथा कार्यक्रममाथिको समूहगत छलफलका क्रममा सांसद गुरुप्रसाद बरालले विज्ञान र प्रविधि क्षेत्रमा राज्यको लगानी तथा प्रतिबद्धता विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद बरालले आधुनिक विकास र आर्थिक रूपान्तरणका लागि विज्ञान तथा प्रविधिलाई मुख्य आधारका रूपमा लिनुपर्ने धारणा राखेका हुन् ।
उनका अनुसार विश्वका धेरै राष्ट्रहरूले द्रुत विकास हासिल गर्नुमा अनुसन्धान, नवप्रवर्तन र प्रविधिमुखी लगानीको महत्त्वपूर्ण भूमिका रहेको छ ।
छलफलमा बोल्दै उनले एसियाका चीन, भारत र जापान लगायतका मुलुकले विज्ञान तथा प्रविधिको क्षेत्रमा निरन्तर लगानी र दीर्घकालीन तयारीमार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै नेपालले पनि त्यस्ता अनुभवबाट पाठ सिक्नुपर्ने बताए ।
बरालले आर्थिक वृद्धि, सामाजिक रूपान्तरण र पूर्वाधार विकासमा प्राप्त सफलताका पछाडि वैज्ञानिक अनुसन्धान तथा प्रविधिको उपयोग निर्णायक कारकका रूपमा रहेको धारणा व्यक्त गरे ।
उनले विज्ञान तथा प्रविधि क्षेत्रको दीर्घकालीन विकासका लागि दक्ष जनशक्ति उत्पादनमा समेत राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक मानव स्रोत तयार पार्न लक्षित कार्यक्रम र योजनाहरू अघि सार्न सरकारलाई सुझाव दिए ।







