वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका-१६ स्थित इनरुवा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ।
शनिवार बिहान करिब ०६: १५ बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो। भारतबाट अवैध रूपमा भन्सार छली ल्याई सिर्सिया नदी किनारको झाडीमा लुकाई–छिपाई राखेको अवस्थामा उक्त कपडा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको कपडाको बजार मूल्य करिब रु. ७ लाख बराबर रहेको अनुमान गरिएको छ। बरामद गरिएका सामग्रीहरूलाई आवश्यक कारबाहीका लागि स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।






