काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल र छविसपाथिभेरा गाउँपालिकाका उपाध्यक्ष राधिकाकुमारी रतालासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बाँठपाली देवताको मन्दिर आयोजनामा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा कार्यान्वयन भएको उक्त आयोजनामा वास्तविक निर्माण कार्यभन्दा बढी रकम भुक्तानी गरी २२ लाख १ हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ।
अनुसन्धानबाट मण्डेलले दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा तथा रतालाले छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्षका रूपमा आयोजनासम्बन्धी प्रक्रियामा संलग्न रही अनियमितता भएको आरोप खेपेका छन्।
यस प्रकरणमा दुर्गाथली गाउँपालिकाका तत्कालीन लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथिभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल, सब–इन्जिनियर बमबहादुर बोहरा, वडा नं। ६ का तत्कालीन अध्यक्ष मोहनलाल विक तथा मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढालाई पनि प्रतिवादी बनाइएको छ।
आयोगका अनुसार मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उपभोक्ता समितिबाट ११ लाख ७ हजार रुपैयाँ बराबरको निर्माण कार्य तथा २ लाख २५ हजार रुपैयाँ कन्टिन्जेन्सी खर्च हुने विवरण रहे पनि वास्तविक कार्यभन्दा बढी रकम भुक्तानी गरिएको दाबी गरिएको छ।







