काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जेड आन्दोलन समाप्त भएपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूले प्राप्त गरेको दाबी गरेका छन्।
पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भदौ २६ गते राति शीतल निवासमा बसेर मुलुकमा थप राजनीतिक अस्थिरता नआओस् भन्ने उद्देश्यले छलफल गरिएको बताए। त्यतिबेला देशको राजनीतिक दिशाबारे विभिन्न अड्कलबाजी र बहस चलिरहेको उनको भनाइ थियो।
दाहालले आफूहरू संसद् विघटनको पक्षमा नरहेको दोहोर्याउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठनका लागि पत्राचार गरेको दाबी गरे।
सोही पत्रपछि अन्तरिम सरकार गठनको वैधानिक आधार बनेको निष्कर्षमा आफूहरू पुगेको उनको भनाइ थियो।
उनले अन्तरिम सरकार गठनको प्रस्ताव आफ्नो पक्षबाट नआएको स्पष्ट पार्दै मुलुकलाई थप राजनीतिक संकटतर्फ जान नदिन त्यसलाई स्वीकार गरिएको बताए।
संसद् विघटनको पक्षमा आफ्नो दल नरहेको उल्लेख गर्दै नयाँ प्रधानमन्त्रीको अनुमोदन संसदबाटै हुनुपर्ने अडान अन्तिमसम्म कायम राखिएको उनले बताएका छन्।






