काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्य नबनाइएको स्पष्ट पार्दै डिजिटल सदस्यता प्रणालीमा देखिएका प्राविधिक तथा विवरण प्रविष्टिसम्बन्धी त्रुटि सुधार गर्ने घोषणा गरेको छ।
प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको सदस्यता तथ्यांकमा १८ वर्षभन्दा कम उमेरका ३६ हजारभन्दा बढी व्यक्ति सदस्य रहेको भन्ने विषय सार्वजनिक भएपछि शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीले उक्त तथ्यांक प्रमाणीकरण नभएको प्रारम्भिक आवेदन विवरणमा आधारित रहेको जनाएको हो।
रास्वपाले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन तथा पार्टी विधानअनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिक मात्र पार्टी सदस्य बन्न पाउने व्यवस्था रहेको उल्लेख गर्दै १८ वर्षमुनिका व्यक्तिलाई सदस्य बनाउने वा राजनीतिक गतिविधिमा सदस्यका रूपमा संलग्न गराउने नीति, अभ्यास वा उद्देश्य नरहेको स्पष्ट गरेको छ।
पार्टीका अनुसार सदस्यता प्रणालीमा आवेदन, प्रमाणीकरण र अन्तिम स्वीकृति फरक–फरक चरण हुन्। आवेदन भर्ने क्रममा जन्ममिति गलत प्रविष्ट हुनु, विक्रम संवत् र इस्वी संवत् मितिमा त्रुटि हुनु तथा टाइपिङ गल्तीका कारण केही आवेदकको उमेर वास्तविकभन्दा कम देखिएको प्रारम्भिक विश्लेषणबाट खुलेको जनाएको छ।
रास्वपाले हालसम्म डिजिटल प्रणालीमा दर्ता भएका करिब ५ लाख २३ हजारभन्दा बढी आवेदनमध्ये झन्डै ३ लाख ९० हजार सदस्यको आधिकारिक कागजातका आधारमा प्रमाणीकरण सम्पन्न भइसकेको र बाँकी आवेदन प्रमाणीकरणकै प्रक्रियामा रहेको जानकारी दिएको छ।
यस्ता त्रुटि दोहोरिन नदिन अबदेखि १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई स्वतः रोक्ने प्रणाली लागू गरिने, प्रमाणीकरण भएका अभिलेखको पुनः परीक्षण गरिने तथा प्राविधिक वा मानवीय त्रुटिका कारण गलत रूपमा स्वीकृत सदस्यता भेटिए तत्काल खारेज गरिने पार्टीले जनाएको छ।
रास्वपाले प्रारम्भिक आवेदन विवरणलाई अन्तिम तथा प्रमाणित सदस्यता अभिलेखका रूपमा बुझ्न नहुने उल्लेख गर्दै सम्पूर्ण विवरण पुनः परीक्षणपछि अद्यावधिक तथ्यांक सार्वजनिक गरिने प्रतिबद्धता जनाएको छ।







