काठमाडौँ । पशु सेवा विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्रको व्यवस्था गर्न निर्देशन दिएको छ। बर्डफ्लुको जोखिम नियन्त्रणलाई प्रभावकारी बनाउन विभागले यस्तो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो।
विभागले बर्डफ्लु भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै रोग नियन्त्रण तथा रोकथाममा उच्च सतर्कता अपनाउन सम्बन्धित सबै निकाय, व्यवसायी र सर्वसाधारणलाई अनुरोध गरेको छ।
विभागका महानिर्देशक उमेश दाहालले पन्छीपालन फार्ममा जैविक सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न, अण्डा राख्न प्रयोग हुने पुराना कागजी क्रेट पुनः प्रयोग नगर्न तथा ढुवानीका सवारीसाधन फार्मभित्र प्रवेश गराउनुअघि पूर्ण रूपमा निःसंक्रमण गर्न व्यवसायीलाई आग्रह गरेका छन्।
त्यसैगरी, घरपालुवा पन्छी र तिनको दाना कागलगायत जंगली पन्छीको सम्पर्कमा आउन नदिने व्यवस्था मिलाउन विभागले सुझाव दिएको छ। कुनै फार्म वा बिक्री केन्द्रमा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी पर्ने वा मर्ने अवस्था देखिए तत्काल नजिकको पशु सेवा निकायलाई जानकारी गराउन पनि विभागले अनुरोध गरेको छ।
विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा तथा करिब तीन लाख किलोग्राम दाना नष्ट गरिएको छ।
रोग नियन्त्रणलाई प्रभावकारी बनाउन विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरिएको जनाइएको छ। उक्त कक्षमार्फत संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गरेर नियन्त्रणका गतिविधि सञ्चालन भइरहेको विभागले जनाएको छ।






