काठमाडौँ । लुम्बिनी प्रदेश सभाको आजको बैठक प्रमुख प्रतिपक्ष तथा अन्य विपक्षी दलहरूले सामूहिक रूपमा बहिष्कार गरेपछि कार्यवाही रोकिएको छ।
आइतबार बसेको बैठकमा बजेटमाथिको छलफल अघि बढ्ने तयारी भइरहेका बेला प्रमुख प्रतिपक्षका प्रतिनिधिहरूले सरकारको आर्थिक प्रस्तावप्रति आपत्ति जनाएका थिए। प्रमुख सचेतक इन्द्रजित थारुले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट असन्तुलित रहेको, विपक्षीका सुझावलाई उपेक्षा गरिएको तथा जनअपेक्षा अनुरूप नभएको टिप्पणी गर्दै बैठकबाट बाहिरिने घोषणा गरेका थिए।
त्यसपछि प्रमुख प्रतिपक्षसँगै अन्य विपक्षी दलका सांसदहरू पनि बैठक कक्षबाट बाहिरिएपछि सभा सञ्चालन अवरुद्ध भएको हो।
उत्पन्न अवस्थालाई ध्यानमा राख्दै सभामुख तुलाराम घर्तीमगरले सदनको कार्यसूची अघि बढाउन नसकिने जनाउँदै बैठक आधा घण्टाका लागि स्थगित भएको जानकारी गराएका छन्।
आजको बैठकमा आर्थिक वर्ष २०८३-८४ का लागि प्रस्तुत बजेटमाथि सामान्य छलफल गर्ने कार्यसूची तय गरिएको थियो।






