काठमाडौँ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकको शून्य समयमा विभिन्न दलका सांसदहरूले विपद् व्यवस्थापनदेखि कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रसँग सम्बन्धित विषय उठाउँदै जनताका तत्कालीन समस्याप्रति सरकार पर्याप्त संवेदनशील बन्न नसकेको बताएका छन्।
बैठकमा बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले बझाङमा भएको आगलागीबाट प्रभावित परिवारले ठूलो आर्थिक क्षति व्यहोरेको उल्लेख गर्दै राहत वितरणको काम शीघ्र अघि बढाउन सरकारसँग आग्रह गरे। विपद्का कारण आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भोगिरहेका नागरिकलाई सहयोग उपलब्ध गराउने विषयमा ढिलाइ हुन नहुने उनको भनाइ थियो।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रमेशकुमार मल्लले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लागेको प्रतिबन्ध फुकुवा गर्न सरकारले आवश्यक कूटनीतिक तथा संस्थागत पहल नगरेको आरोप लगाए। सरकारको हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले उक्त निर्णय गरेको दाबी गर्दै उनले त्यसको समाधानका लागि सक्रिय प्रयास आवश्यक रहेको धारणा राखे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन्। चिकित्सकलाई न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने विषयमा प्रभावकारी नीतिगत तथा कार्यान्वयनका कदम चाल्न सरकार अग्रसर हुनुपर्ने उनको माग थियो।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बर्डफ्लुसम्बन्धी फैलिएको त्रासका कारण किसान प्रभावित भएको उल्लेख गर्दै तथ्यमा आधारित सूचना प्रवाह र प्रभावकारी व्यवस्थापनमा सरकार सक्रिय हुनुपर्ने बताइन्। बर्डफ्लु पुष्टि भएको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने र अनावश्यक अफवाहका कारण कृषकलाई थप समस्यामा पर्न नदिने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिइन्।
सांसदहरूले शून्य समयमार्फत उठाएका विषयमा सरकारलाई जनतासँग प्रत्यक्ष जोडिएका समस्याको समाधानमा थप सक्रिय र उत्तरदायी बन्न आग्रह गरेका छन्।







