विराटनगर । कर्तव्य ज्यान (हत्या) मुद्दामा २५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय ध्रुव बहादुर भुजेल रहेका छन्।
जिल्ला अदालत सोलुखुम्बुको फैसलापछि भुजेलले काठमाडौँस्थित केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए। तर, मिति २०८२ साल भदौ २४ गते कारागारभित्र भएको जेन जेड आन्दोलनको मौका छोपी उनी त्यहाँबाट फरार भएका थिए।
फरार रहेका भुजेल मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठ गाउँमा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो १२:५० बजे पक्राउ गरेको हो।
पक्राउ परेका भुजेललाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि मोरङ कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।







