काठमाडौँ। नेपाल प्रहरीले रिक्त प्रहरी कार्यालय सहयोगी (भान्छे, हजाम र कुचीकार) पदमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन दिएका उम्मेदवारहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा सञ्चालन गर्ने भएको छ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखाको भर्ती छनोट शाखाले आज एक सूचना जारी गर्दै असोज २ गते प्रकाशित विज्ञापनबमोजिम दरखास्त दिएका उम्मेदवारहरूको परीक्षा तोकिएका परीक्षा केन्द्रमा सञ्चालन हुने जनाएको छ ।
परीक्षामा सहभागी हुने उम्मेदवारले सक्कल नागरिकताको प्रमाणपत्र र सम्बन्धित कार्यालयबाट उपलब्ध गराइएको प्रवेश पत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
त्यस्तै, उम्मेदवारहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगाडि तोकिएको परीक्षा केन्द्रमा उपस्थित हुन नेपाल प्रहरीले आग्रह गरेको छ।
प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको भोलिपल्ट बिहान ८ बजेभित्र सम्बन्धित परीक्षा केन्द्रबाट प्रकाशन गरिने सूचनामा उल्लेख छ।
उक्त परीक्षामा उत्तीर्ण उम्मेदवारहरूको विस्तृत स्वास्थ्य परीक्षण नतिजा प्रकाशन भएकै दिन सम्बन्धित परीक्षा केन्द्रले तोकेको स्थानमा सञ्चालन गरिनेछ।
नेपाल प्रहरीले उम्मेदवारहरूलाई आवश्यक कागजातसहित निर्धारित समयमा परीक्षा केन्द्रमा उपस्थित भई परीक्षामा सहभागी हुन सूचित गरेको छ।









