काठमाडौँ । जिल्ला सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौँ) राम केवल राय यादव घुस रकमसहित पक्राउ पर्दा उनीसँग स्रोत खुलाउन नसकिएको एक लाख ३३ हजार एक सय २० रुपैयाँ समेत फेला परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवले उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए–नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख-हैरानी दिँदै घुस मागेका थिए।
प्राप्त सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउका क्रममा यादवको साथबाट घुसस्वरूप लिएको १२ हजार रुपैयाँसँगै स्रोत खुलाउन नसकिएको एक लाख ३३ हजार एक सय २० रुपैयाँ समेत बरामद भएको आयोगले जनाएको छ। यससँगै उनीबाट कुल एक लाख ४५ हजार एक सय २० रुपैयाँ नगद र एक थान मोबाइल बरामद गरिएको छ।
यादवलाई मिति २०८३ असार २३ गते सिरहाको कर्जन्हा नगरपालिका-४ स्थित मिर्चौयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्गमा नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।







