काठमाडौँ । राहदानी प्राप्तिमा भएको ढिलाइका कारण सेवाग्राहीले आत्मदाह प्रयास गरेको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा पार्टीका प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा भएको घटनाबारे सरकारको जबाफदेहिता खोजेका हुन्।
सांसद दुलालले प्रारम्भिक जानकारी अनुसार राहदानी सेवामा भएको ढिलाइबाट असन्तुष्ट एक व्यक्तिले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आत्मदाहको प्रयास गरेको जानकारी संसद्मा गराए।
उनले सार्वजनिक सेवा प्रवाहमा देखिएको कमजोरीका कारण नागरिकले चरम निराशाको अवस्था सामना गर्नुपरेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाए।
दुलालले नागरिकको घरदैलोमै राहदानी सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको सरकारले सेवा सहज र प्रभावकारी बनाउन नसकेको आरोप लगाए। उनले राहदानी जस्तो अत्यावश्यक सेवामा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताए।
घटनाप्रति दुःख व्यक्त गर्दै प्रमुख सचेतक दुलालले नागरिकका समस्या र सेवा प्रवाहसँग जोडिएका विषयमा संवेदनशील भएर तत्काल सुधारका कदम चाल्न सरकारलाई आग्रह गरे।







