काठमाडौँ । सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतले पालिकामा काम नगरेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुतला दहन गर्दै प्रदर्शन गरिएको छ ।
रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण पालिकाको प्रशासनिक कामकाज प्रभावित भएपछि स्थानीय बासिन्दाले विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री शाहको पुतला दहन गरेका हुन् ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८२ चैत १६ गते सुरेशबाबु घिमिरेलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको भए पनि उनले हालसम्म जम्मा २० दिन मात्रै हाजिर भएर जिम्मेवारी पूरा नगरेको नगर प्रमुख रीना कुमारी साहले बताइन्।
उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत नियमित रूपमा कार्यालयमा उपस्थित नहुँदा सेवा प्रवाह, विकास निर्माणका काम तथा आर्थिक प्रशासन प्रभावित भएको छ। विशेष गरी आज भुक्तानी गर्नुपर्ने अन्तिम दिनमा समेत प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा अनुपस्थित भएपछि स्थानीयवासी आक्रोशित बनेका हुन्।
नगर प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्था सिर्जना गरी नगरपालिकाको बजेट नै फ्रिज हुने अवस्था ल्याइएको बताउँदै त्यसकै विरोध स्वरूप स्थानीयले प्रधानमन्त्री बालेन शाहको पुतला दहन गरेको जानकारी दिइन्।
प्रदर्शनका क्रममा स्थानीयले “बिजुली-पानीको भुक्तानी गर”, “सम्मानित अदालतको आदेश पालन गर”, “मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर”, “मौलापुरमा तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाऊ” तथा “मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन” लगायतका नारा लगाएका थिए।
प्रदर्शनकारीहरूले विकास निर्माणका कामले गति लिनुपर्ने बेला नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाउनु गैर जिम्मेवार निर्णय भएको भन्दै सरकारसँग तत्काल स्थायी रूपमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न माग गरेका छन्।







