काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका ग्राहकले अब खाता बन्द गर्नका लागि सम्बन्धित बैंकको शाखा कार्यालयमै उपस्थित हुनुपर्ने व्यवस्था हट्ने भएको छ।
नेपाल राष्ट्र बैंकले निष्क्रिय खाताको संख्या घटाउने उद्देश्यसहित डिजिटल माध्यमबाटै खाता बन्द गर्ने व्यवस्था लागू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। नयाँ व्यवस्थाअनुसार ग्राहकले मोबाइल बैंकिङ वा वेब एप्लिकेसनमार्फत खाता बन्द गर्ने प्रक्रिया पूरा गर्न सक्नेछन्।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको व्यवस्थापनका लागि छुट्टै कार्ययोजना तयार गर्नसमेत भनेको छ। उक्त योजना आगामी पुस महिनासम्म कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ।
राष्ट्र बैंकको यो व्यवस्थाले लामो समयदेखि प्रयोगमा नरहेका खाताको व्यवस्थापन सहज बनाउने र ग्राहकलाई बैंकिङ सेवा प्राप्तिमा थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।







