काठमाडौँ। नेपाल सरकार, अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै प्रचलित कानुनबमोजिम योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
इच्छुक तथा योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन पेश गर्न सक्नेछन्।
सूचनाअनुसार आवेदन फाराम तथा आवश्यक विवरण निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालय, अर्थ मन्त्रालयको वेबसाइट तथा कोषको वेबसाइटबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
अर्थ मन्त्रालयले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न इच्छुक उम्मेदवारहरूलाई आग्रह गरेको छ।








