काठमाडौँ । झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ-फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले शिवसताक्षी नगरपालिका-९ रमाइलोका ३० वर्षीय विजय दर्जीलाई कनकाई नगरपालिका-३ सुरुंगास्थित सार्वजनिक बसबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार कनकाई नगरपालिका–३ का ११ वर्षीय प्रज्ज्वल श्रेष्ठलाई फकाएर दुवै कानको मुन्द्रा लुटिएको थियो । स्थानीय भृकुटी माध्यमिक विद्यालयका दुई विद्यार्थी तथा कनकाई नगरपालिका–८ स्थित हिमाली माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत एक बालकको समेत सोही तरिकाले कानको मुन्द्रा लुटिएको थियो ।
एक महिनायता कनकाई नगरपालिकाभित्र एउटै शैलीमा पाँच बालबालिकाको कानको मुन्द्रा लुटिएको घटना सार्वजनिक भएपछि विशेष निगरानी बढाइएको सूचना अधिकारी अवाले बताए । प्रहरीका अनुसार घटनास्थल आसपासका सिसीटिभी फुटेज र पीडित बालबालिकाको बयानको आधारमा सबै घटनामा एउटै व्यक्तिको संलग्नता देखिएपछि खोजी अभियान तीव्र बनाइएको थियो । सार्वजनिक बसमा यात्रा गरिरहेका दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दर्जीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । साथै, लुटिएका मुन्द्रा बिक्री–वितरणमा सहयोग गरेको आरोपमा दर्जीकी आफन्त विमला सांसाकरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।







