काठमाडौँ। नेपालको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकअनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको हो ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको असार मसान्तमा २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति ११ महिनाको अवधिमा ४० दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।
अमेरिकी डलरमा गणना गर्दा पनि विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ । सो अवधिमा डलर सञ्चिति २६ दशमलव ५ प्रतिशतले बढेर जेठ मसान्तसम्म करिब २४ अर्ब ६८ करोड अमेरिकी डलर बराबर पुगेको राष्ट्र बैंकले जनाएको छ ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३३ खर्ब ३० अर्ब रुपैयाँ बराबर तथा बैंक तथा वित्तीय संस्थासँग ४ खर्ब २५ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ दशमलव ५ प्रतिशत रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धिले बाह्य क्षेत्रको स्थायित्वमा सकारात्मक प्रभाव परेको देखिएको छ । राष्ट्र बैंकका अनुसार हाल कायम सञ्चितिले बैंकिङ क्षेत्रमार्फत हुने वस्तु आयात करिब २२ दशमलव ५ महिनासम्म र वस्तु तथा सेवाको संयुक्त आयात करिब १९ दशमलव १ महिनासम्म धान्न सक्ने क्षमता राख्छ ।
विदेशी मुद्रा सञ्चितिको विस्तारले नेपालको बाह्य वित्तीय अवस्था थप सबल भएको संकेत गरेको छ ।







