काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट आउने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि जेठसम्मको अवधिमा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स मुलुक भित्रिएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ दशमलव २ प्रतिशतले बढी हो । चालु आवको जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ बराबर विप्रेषण प्राप्त भएको छ ।
यसअघि वैशाख महिनामा हालसम्मकै उच्च मासिक रेमिट्यान्स आप्रवाह देखिएको थियो । उक्त महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ बराबर रकम भित्रिएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । गत वर्षको जेठ महिनामा भने १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ बराबर रेमिट्यान्स आएको थियो ।
अमेरिकी डलरमा गणना गर्दा पनि विप्रेषण आप्रवाह सकारात्मक देखिएको छ । समीक्षा अवधिमा डलरमा प्राप्त रेमिट्यान्स २९ दशमलव ६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड अमेरिकी डलर बराबर पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा डलरमा आधारित विप्रेषण वृद्धि १२ दशमलव ८ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर २३ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या पनि उल्लेख्य रहेको छ । राष्ट्र बैंकका अनुसार अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६७ हजार २ सय ११ पुगेको छ । यसमध्ये संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५५ हजार ७ सय ३५ रहेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५२ हजार ३ सय २४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ रहेको थियो ।







