काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामाथि रु. दुई करोडभन्दा बढीको अनलाइन सट्टेबाजी कारोबार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा रुपन्देहीका प्रत्युशमान सिंह, बाराका गौतमकुमार गुप्ता, पाँचथरका सवनम बानियाँ र पाल्पाका सुधन सुवेदी छन् ।
प्रहरीका अनुसार काठमाडौँका विभिन्न स्थानमा अनलाइन सट्टेबाजी गराएको र श्रव्यदृश्य सामग्री बनाएर सामाजिक सञ्जालमा राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले माइतीघर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूका साथबाट चार थान मोबाइल फोन र चार थान सिम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूले मोबाइल बैंकिङ र बेटिङ प्लेटफर्ममार्फत रु. दुई करोडभन्दा बढीको कारोबार गरेको खुलेको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध सट्टेबाजी गर्न वा गराउन नहुने कसुरअन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थपको अनुमति लिई अनुसन्धान अघि बढाएको प्रवक्ता भट्टराईले बताए ।







