काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्रीसमेत रहेका सांसद विपिन आचार्यले प्रतिनिधि सभाको कामकारबाहीको पनि सय दिनको समीक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले सरकारको प्रारम्भिक सय दिनको मूल्यांकन गर्ने अभ्यास रहेजस्तै संसद्को कार्यसम्पादन, भूमिका र प्रभावकारिताको पनि समीक्षा आवश्यक रहेको धारणा राखेका हुन्।
उनले संसद् सञ्चालन सुरु भएयता सांसदहरूको उपस्थितिको अवस्था, विधेयकमा सांसदहरूले दिएका संशोधनले पारेको प्रभाव, संसदीय समितिहरूको कार्यसम्पादन तथा सदनमा उठाइएका विषयको कार्यान्वयन अवस्थाबारे मूल्यांकन गर्नुपर्ने बताए।
सांसद आचार्यले संसद्को शून्य समय, विशेष समय र आकस्मिक समयमा उठाइएका विषय कति सम्बोधन भए, सांसदहरूको प्रस्तुतिको प्रभावकारिता कस्तो रह्यो भन्ने विषय पनि समीक्षाको दायरामा राख्नुपर्ने उल्लेख गरे।
उनले प्रतिनिधि सभा नियमावलीको पालना र उल्लंघनका घटनाको समेत समीक्षा गर्न सभामुखसमक्ष आग्रह गरेका छन्। नियम उल्लंघन गर्ने अवस्था, त्यसप्रति संसद्ले अपनाएको प्रक्रिया र सुधारका उपायबारे संस्थागत मूल्यांकन आवश्यक रहेको उनको भनाइ थियो।







