काठमाडौँ । सार्वजनिक यातायात तथा ढुवानीका साधनको दर्ता वा नवीकरण गर्दा चालक, सहचालक तथा अन्य सहयोगी कर्मचारीको पारिश्रमिकबाट कर कट्टी गरिएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था लागू गर्ने प्रक्रिया अघि बढाइएको छ।
आन्तरिक राजस्व विभागले यातायात व्यवस्था विभागलाई पत्राचार गर्दै सवारी दर्ता तथा नवीकरणका क्रममा सम्बन्धित सवारीमा कार्यरत जनशक्तिको पारिश्रमिक विवरण र सोबाट नियमानुसार कर कट्टी गरी राजस्व दाखिला गरेको प्रमाण अनिवार्य रूपमा माग्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
विभागले आयकर ऐन, २०५८ मा भएका व्यवस्थाअनुसार करयोग्य आम्दानी गर्ने सबै व्यक्ति करको दायराभित्र आउनुपर्ने कानुनी दायित्व रहेको स्मरण गराएको छ।
कानुनी व्यवस्थाअनुसार भाडाका सवारीसाधन तथा ढुवानी सेवामा कार्यरत चालक, सहचालक र सहयोगी कर्मचारीलाई पारिश्रमिक भुक्तानी गर्दा सम्बन्धित सवारी धनी वा सञ्चालकले स्रोतमा कर कट्टी गरी तोकिएबमोजिम सरकारी राजस्व खातामा दाखिला गर्नुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ।
यस व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सवारीसाधन दर्ता तथा नवीकरण प्रक्रियासँग कर कट्टीको प्रमाणलाई आबद्ध गर्ने तयारी गरिएको हो।








