काठमाडौँ । टर्कीका सुरक्षा निकायहरूले मानव तस्करी विरुद्धको राष्ट्रव्यापी अभियान र इस्तानबुलमा हुन लागेको एक सशस्त्र आक्रमणको योजनालाई असफल तुल्याउँदै ६४ जनालाई पक्राउ गरेका छन् ।
टर्कीको आन्तरिक मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मानव तस्करीमा संलग्न सञ्जाल विरुद्ध देशका २६ प्रान्तहरूमा सञ्चालित समन्वयकारी छापाका क्रममा ५७ जना संदिग्धहरूलाई नियन्त्रणमा लिइएको छ । ‘जेण्डरमेरी जनरल कमाण्ड’को नेतृत्वमा भएको यस कारबाहीमा कमाण्डो र राजमार्ग सुरक्षा एकाइहरू परिचालन गरिएको थियो भने हवाई निगरानीमार्फत उनीहरूलाई सहयोग पुर्याइएको मन्त्रालयले जनाएको छ । यस अभियानका क्रममा सुरक्षा बलले अवैध रूपमा सीमा पार गर्न प्रयोग गरिने २८२ वटा सवारी साधनका साथै २२ वटा डुङ्गा र समुन्द्री इन्जिनहरू जफत गरेको छ ।
टर्कीको तटरक्षक बल (कोस्ट गार्ड कमाण्ड) काअनुसार यस वर्ष जुलाई १४ सम्म टर्कीको समुन्द्री क्षेत्रमा १८६ वटा अवैध आप्रवासनका घटनाहरू रेकर्ड भएका छन् । जसमा ४,४४९ आप्रवासीहरू संलग्न थिए । गत वर्षको सोही अवधिमा यो सङ्ख्या ९,६०४ रहेको थियो । यद्यपि, समुन्द्री दुर्घटनामा परी ज्यान गुमाउने आप्रवासीहरूको सङ्ख्यामा भने वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा २८ जनाको मृत्यु भएकोमा यस वर्ष ४३ जनाको मृत्यु भइसकेको छ ।
आन्तरिक मन्त्रालयको तथ्याङ्कअनुसार टर्कीमा हाल ३६ लाखभन्दा बढी दर्ता भएका विदेशीहरू बसोबास गर्छन्, जसमा अस्थायी सुरक्षा अन्तर्गत रहेका २२ लाख ४० हजार सिरियाली नागरिकहरू सामेल छन् ।
यसैबीच, टर्की प्रहरीले इस्तानबुलमा सशस्त्र आक्रमणको तयारी गरिरहेका ७ जना संदिग्धहरूलाई हतियार र विस्फोटक पदार्थसहित पक्राउ गरेको छ ।
इस्तानबुल प्रहरी विभागले मङ्गलवार सार्वजनिक गरेको जानकारी अनुसार, इयुप्सुलतान जिल्लामा गोली चलेको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
सो क्रममा प्रहरीले लामो दूरीको हतियार र बम बोकेका एक संदिग्धलाई पक्राउ गरेको थियो । त्यस लगत्तै १० वटा विभिन्न स्थानमा गरिएका छापामा अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिइएको हो ।
प्रहरीले आक्रमणका लागि तयार पारिएका घरेलु विस्फोटक पदार्थ, गोलाबारुद र अन्य रणनीतिक सामग्रीहरू बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरू कुनै खास सङ्गठनसँग आबद्ध रहे/नरहेको बारे अधिकारीहरूले अहिलेसम्म केही खुलाएका छैनन् ।







