काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सुरु भएको छ। संसदीय दलको कार्यालयमा जारी बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था, बदलिएको सत्ता समीकरण तथा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित विषयमा छलफल भइरहेको छ।
प्रदेश सरकारको राजनीतिक समीकरण बुधबार परिवर्तन भएको थियो। मुख्यमन्त्री कमलबहादुर शाहले एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पदमुक्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यससँगै सरकार अल्पमतमा पुगेको छ।
यसबीच मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेकपासँग सहकार्यको प्रस्ताव अघि सारेका छन्। उनले चालु आर्थिक वर्षको बजेट पारित गर्न सहयोग उपलब्ध गराएपछि सत्ता साझेदारीबारे अघि बढ्न सकिने धारणा राखेका थिए। तर उक्त प्रस्तावलाई नेकपाले स्वीकार नगरेको बताइएको छ। यद्यपि सत्ता गठनको सम्भावित विकल्पबारे दुवै पक्षका नेताबीच अनौपचारिक तहमा संवाद जारी रहेको जनाइएको छ।
यसअघि एमालेले आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि जनाउँदै खर्च कटौतीको प्रस्ताव दर्ता गरेको थियो। बजेटलाई लिएर काँग्रेस र एमालेबीच विवाद बढेपछि प्रदेश सरकारमा रहेको दुई दलबीचको सहकार्य अन्त्य भएको हो।
समर्थन फिर्तापछि अल्पमतमा रहेका मुख्यमन्त्री शाहले संवैधानिक व्यवस्थाअनुसार बिहीबार राति १२ बजेभित्र आगामी आर्थिक वर्षको बजेट पारित गराउनुपर्ने अवस्था रहेको छ।
निर्धारित समय सीमाभित्र बजेट पारित हुन नसके र सरकारले वैकल्पिक रूपमा पेस्की बजेटसमेत ल्याउन नसकेको अवस्थामा प्रदेशमा बजेट शून्यताको अवस्था उत्पन्न हुने जोखिम रहने देखिएको छ।







