काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका स्वास्थ्य अधिकार, स्वास्थ्य सेवामा पहुँच तथा आवश्यक नीतिगत सुधारका विषयमा छलफल भएको छ।
मायाको पहिचान नेपाल, समावेशी मञ्च र लिड नेपालका प्रतिनिधिहरूले मन्त्री मेहतासँग भेट गरी समुदायले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा सामना गरिरहेका समस्या, हर्मोन थेरापी, लिंग परिवर्तन (सेक्स रिअसाइनमेन्टरजेन्डर अफर्मिङ) शल्यक्रिया तथा समुदायमैत्री स्वास्थ्य सेवाको आवश्यकता लगायतका विषयमा धारणा राखेका थिए।
भेटमा मायाको पहिचान नेपालका संस्थापक सुनिलबाबु पन्तसहित विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
छलफलका क्रममा मन्त्री मेहताले सबै नागरिकलाई भेदभावरहित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व रहेको उल्लेख गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका विशेष स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न मन्त्रालय नीतिगत तथा प्राविधिक रूपमा सकारात्मक रहेको बताइन्।
उनले सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गर्दै समुदायको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आवश्यक पहल अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरिन्।








