गण्डकी । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी-दरबाङ सडकअन्तर्गत फापर खेतको पहिरो नियन्त्रणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज आफ्नो निर्वाचन क्षेत्रमा आएका मन्त्री पुनले सडकको निरीक्षणपछि यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
“चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सङ्घबाट रु. चार करोड विनियोजन भएको छ, एक वर्ष भित्रमा समस्या समाधान हुनेमा विश्वस्त छु,” उनले भने ।
करिब ३० वर्षदेखि उक्त स्थानमा पहिरोको समस्या छ । सडक माथिबाट खसेको पहिरोका कारण वर्षायाममा सडक अवरुद्ध हुँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकावासीले आवतजावतमा सास्ती खेप्दै आएका छन् । आजै मन्त्री पुनले प्रदेश अस्पतालको निर्माणाधीन भवनबारे जानकारी लिएका छन् । उनले अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था र उपकरणका लागि सक्दो प्रयास गर्ने बताए ।
साथै मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने बैसरी पहिरो रोकथाममा भएका प्रयासबारे पनि जानकारी दिएका थिए ।







