काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय संगठन समिति सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि अपवित्र साँठगाँठ नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
आज (आइतबार) जारी विज्ञप्तिमा खनालले नयाँ सरकार गठनपछि देशका राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनअधिकार, सूचना पाउने अधिकार तथा विभिन्न संवैधानिक संस्थाहरूबीचको सम्बन्ध कमजोर बन्दै गएको दाबी गरेका छन्। उनले विदेशी हस्तक्षेप र बढ्दो घरेलु अस्थिरताप्रति पनि चिन्ता व्यक्त गरेका छन्।
खनालले वर्तमान परिस्थितिमा वामपन्थी, लोकतान्त्रिक, समाजवादी तथा प्रगतिशील शक्तिहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आपसी आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्याग्नुपर्ने बताएका छन्। साथै, विगतमा दक्षिणपन्थी शक्तिसँग गरिएको सहकार्यलाई गल्ती भएको स्वीकार गर्दै अब त्यस्तो अभ्यास दोहोरिन नहुने बताएका छन्।
उनले पार्टी नेतृत्वलाई तत्काल केन्द्रीय संगठन समितिको बैठक बोलाई वर्तमान राजनीतिक अवस्था, पार्टीको कार्यदिशा तथा प्रदेश सरकार गठनसम्बन्धी नीति स्पष्ट गर्न आग्रह गरेका छन्। कुनै पनि नयाँ राजनीतिक समीकरणमा जानुअघि पार्टीभित्र व्यापक छलफल हुनुपर्ने उनको भनाइ छ।
विज्ञप्तिको अन्त्यमा खनालले अहिलेको समय सत्ता साझेदारी वा साँठगाँठ गर्ने नभई सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने समय भएको उल्लेख गरेका छन्।







