काठमाडौँ। दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन तथा आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आपूर्तिकर्ता सहकारी संस्था तथा निजी दुग्ध फार्मका लागि नयाँ व्यवस्था लागू गरेको छ।
सरकारी स्वामित्वको संस्थानले चालु आर्थिक वर्ष २०८३-८४ देखि लागू हुने गरी डीडीसीसँग निरन्तर दूध कारोबार गर्न इच्छुक सहकारी र फार्मलाई साउन मसान्तभित्र सम्पर्क गरी विवरण अद्यावधिक गर्न सूचित गरेको हो।
डीडीसी केन्द्रीय कार्यालय लैनचौरले जारी गरेको सूचनामा दूध संकलन प्रणालीलाई प्रविधिमैत्री, व्यवस्थित, दिगो र नियमित बनाउने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको उल्लेख छ।
संस्थानका अनुसार तोकिएको अवधिभित्र सम्पर्क नगर्ने दूध आपूर्तिकर्ता संस्था वा फार्मसँग आगामी दिनमा दूध खरिद गर्न डीडीसी बाध्य नहुने छ। यससँगै साउन मसान्तपछि सम्पर्कविहीन रहेका उत्पादकको दूध संकलनमा संस्थानले निरन्तरता नदिन सक्ने जनाएको छ।
डीडीसीसँगको कारोबार कायम राख्न चाहने दुग्ध उत्पादक सहकारी तथा निजी फार्मले आफूलाई नजिक पर्ने डीडीसीका आयोजना कार्यालय वा चिस्यान केन्द्र (चिलिङ सेन्टर) मा सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ।
करिब ५७ वर्षदेखि दुग्ध क्षेत्रमा सक्रिय डीडीसीले देशभरका किसान, सहकारी संस्था तथा निजी फार्मबाट दूध संकलन गर्दै आएको छ। संस्थानले पछिल्लो निर्णयमार्फत दूध आपूर्ति शृंखलालाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ।








