काठमाडौँ । हंसपुर नगरपालिका, धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलसमेतका प्रतिवादी रहेको सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार धनुषाको हँसपुर नगरपालिका वडा नं. ५ स्थित सुगानिकासदेखि कट्टीसम्मको पि.सि.सि. ढलान योजनामा सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर कायम गरी रु. ७ लाख ८१ हजार ८१८ रुपैयाँ ०३ पैसा बिगो कायम गरेको थियो। आयोगले प्रतिवादीहरूलाई ऐनको दफा ३ (१) अनुसार कैद तथा जरिवाना र दफा १७ बमोजिम बिगो असुलउपर हुनुपर्ने माग दाबी गर्दै विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको थियो।
यसैगरी, गलत विवरण तथा झुट्टा प्रतिवेदनसम्बन्धी कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम समेत सजायको माग दाबी गरिएको थियो।
तर विशेष अदालत, काठमाडौँले मिति २०८२।११।२६ मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति आयोगलाई चित्त नबुझेपछि मिति २०८३।०४।०४ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको आयोगले जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको पुनः न्यायिक परीक्षणका लागि सर्वोच्च अदालतमा पुनरावेदन प्रक्रिया अघि बढाएको जनाएको छ।







