काठमाडौँ । भारतीय राष्ट्रिय काँग्रेसका नेता तथा लोकसभाका प्रतिपक्ष नेता राहुल गान्धीले विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र नैतिक जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गान्धीले विद्यार्थीसँग सम्बन्धित विषयमा संसदमा छलफल हुन नदिन सरकारले प्रयास गरेको आरोप लगाए।
उनले प्रदर्शनमा सहभागी विद्यार्थीमाथि बल प्रयोग भएको घटनालाई गम्भीर भन्दै यसबारे प्रधानमन्त्री मोदीको मौनतामाथि पनि प्रश्न उठाएका छन्।
गान्धीले उक्त घटनाको जिम्मेवारी शिक्षा मन्त्रालयको मात्र नभई गृह मन्त्रालयसँग पनि जोडिएको दाबी गर्दै गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।
यसैबीच, उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नयाँ दिल्लीस्थित राम मनोहर लोहिया (आरएमएल) अस्पताल पुगेर उपचाररत घाइतेहरूसँग भेट गरेका छन्।







