काठमाडौँ । बीमा ऐन, २०७९ र धितो पत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौँ महानगरपालिका-७ सिफलबाट मृगेन्द्रनाथ रिमाललाई नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार रिमाललाई बीमा तथा धितो पत्रसम्बन्धी कसुरमा दीपक भट्टसँग सम्बन्धित मुद्दामा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका रिमाललाई आवश्यक कानुनी प्रक्रियाका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
यसअघि गत जेठ २८ गते काठमाडौँ जिल्ला अदालतमा उक्त मुद्दा दायर हुँदा रिमाल फरार प्रतिवादीका रूपमा कायम रहेका थिए । अदालतमा मुद्दा दायर गरिए पनि उनी सम्पर्कमा नआएपछि फरार सूचीमै राखिएको थियो ।







