काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिक मान्यता दिने सर्वोच्च अदालतको अन्तिम आदेश पुनरावलोकन गरिपाऊँ भन्ने मागसहित निवेदन दर्ता भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको आन्तरिक विवादसँग सम्बन्धित मुद्दामा यसअघि जारी भएको अन्तिम फैसलामाथि पुनरावलोकनको प्रक्रिया अघि बढाउन निवेदन दर्ता गराएको हो।
यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाको नेतृत्वमा बनेको कार्यसमितिलाई आधिकारिकता प्रदान गर्ने आदेश दिएको थियो।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको निर्णयप्रति असहमति जनाउँदै तत्कालीन सभापति शेरबहादुर देउवा तथा नेता पूर्णबहादुर खड्काले उक्त विषयमा सर्वोच्च अदालतको शरण लिएका थिए।






