काठमाडौँ । विभिन्न पाँच बुँदे माग अघि सार्दै बिहीबारदेखि धनगढीमा २४औँ सत्याग्रह सुरु गरेका प्राध्यापक डा. गोविन्द केसीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भेट गरी सरकारसँग वार्ता र संवादमार्फत समाधान खोज्न अनुरोध गरेका छन्।
शुक्रबार बिहान धनगढीस्थित एलएन चोकको कृष्ण मन्दिर धर्मशालामा अनसनरत डा. केसीलाई प्रमुख जिल्ला अधिकारी रेग्मीले कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दसहित भेटेका हुन्।
भेटका क्रममा डा. गोविन्द केसीलाई जनभावनाको कदर गर्दै मागबारे सरकारसँग वार्ता र संवादमा आउन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
उनका अनुसार डा. केसीले अघि सारेका पाँच बुँदे मागमध्ये तीन वटा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित छन्। बाँकी मागमा ‘जेनजेड’ आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने तथा २०४६ सालयता उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषय समेटिएका छन्।
“हामीले स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा आम नागरिकको भावना समेतलाई मध्यनजर गर्दै वार्ता र संवादमार्फत समाधान खोज्नु उपयुक्त हुने सुझाव दिएका हौँ,” प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, “तर उहाँले आफ्नो अडानमा कुनै परिवर्तन गर्नुभएको छैन।”
भेटका क्रममा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले अनसनबाहेक पनि सरकारसमक्ष आफ्ना माग प्रस्तुत गर्ने अन्य लोकतान्त्रिक माध्यमहरू उपलब्ध रहेको उल्लेख गर्दै त्यसतर्फ पनि ध्यान दिन आग्रह गरेका थिए।
यद्यपि डा. केसीले भने आफ्ना माग पूरा नभएसम्म सत्याग्रह र अनसन जारी राख्ने अडान दोहोर्याएका छन्।






