काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उप्रेतीले औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।
जिम्मेवारी सम्हाल्दै उनले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा विपद्पछिको पुनर्स्थापनाका कामलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
पदभार ग्रहणपछि कार्यकारी प्रमुख उप्रेतीले जाजरकोट भूकम्पबाट प्रभावित १८८ घरधुरीको पुनर्निर्माण प्रक्रिया सुरु गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।
उनले यसअघिको नेतृत्वबाट भएका सकारात्मक कामलाई निरन्तरता दिँदै पुनर्निर्माणको प्रतीक्षामा रहेका प्रभावित नागरिकलाई लक्षित गरी काममा गति दिने बताए ।
प्राधिकरणको नयाँ नेतृत्वले विपद् व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउँदै जोखिम न्यूनीकरण र पुनर्निर्माणका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्ने जनाएको छ ।






