काठमाडौँ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका निहारिका राजपूत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरूलाई शुक्रबार हाजिरी जमानीमा छाडिएको हो। अनुसन्धानका क्रममा उनीहरूलाई पछिल्ला तीन दिनदेखि प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको थियो।
प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ। सोही प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आवश्यक म्याद लिएर अनुसन्धान प्रक्रिया सञ्चालन गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार हाजिरी जमानीमा रिहा गरिए पनि उनीहरूमाथिको कानुनी अनुसन्धान भने यथावत् जारी रहनेछ।






