काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न मुलुक पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बेरोजगार युवायुवतीलाई न्युजिल्यान्ड र पोर्चुगलमा रोजगारीको व्यवस्था गरिदिने आश्वासन दिई रकम ठगी गरेको उजुरीका आधारमा अनुसन्धान गर्दै उनीहरूलाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका-६ स्थायी घर भई काठमाडौँको तारकेश्वर नगरपालिका-१० बस्दै आएका ५१ वर्षीय राजकुमार भण्डारी रहेका छन्। उनले दुई जनालाई न्युजिल्यान्ड पठाइदिने भन्दै कुल ३ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ। उनलाई साउन ८ गते तारकेश्वर–१० बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै, ओखलढुंगाको लिखुतामाकोशी गाउँपालिका-९ स्थायी घर भई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१२ बस्दै आएका २९ वर्षीय सुरेश घिमिरे पनि पक्राउ परेका छन्। उनीमाथि एक जनालाई पोर्चुगल पठाइदिने भन्दै १८ लाख रुपैयाँ असुलेको आरोप छ। उनलाई काठमाडौँ महानगरपालिका-७ क्षेत्रबाट साउन ८ गते पक्राउ गरिएको हो।
प्रहरीका अनुसार दुवै घटनामा पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। पक्राउ परेका व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा भएको ठगीसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ।






