काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न प्रकृतिका आपराधिक गतिविधि तथा गुण्डागर्दीसँग जोडिएका १ हजार ८ सय ७१ जनाको विस्तृत प्रोफाइल तयार गरेको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरले उक्त जानकारी सार्वजनिक गरेको हो। परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठमाडौँ उपत्यकामा हुने विभिन्न किसिमका अपराधको अनुसन्धानलाई प्रभावकारी बनाउन यो विवरण संकलन गरिएको हो।
प्रहरीका अनुसार कुनै आपराधिक घटना घटेपछि सम्भावित संलग्न व्यक्तिको पहिचान, खोजतलास तथा कानुनी कारबाहीको प्रक्रिया छिटो र प्रभावकारी बनाउन विस्तृत अभिलेख तयार गरिएको हो।
तयार गरिएको प्रोफाइलमा सम्बन्धित व्यक्तिको तीन पुस्तेसम्मको विवरण समावेश गरिएको प्रहरीले जनाएको छ। साथै, विगतमा पटक–पटक आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरू तथा अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै वर्गीकरण गरेर अभिलेखीकरण गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।
प्रहरीले यस्तो अभिलेख व्यवस्थापनबाट अनुसन्धान प्रक्रिया थप व्यवस्थित, द्रुत र तथ्यमा आधारित बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।






