काठमाडौँ । बर्दियामा लोपोन्मुख वन्यजन्तु ओतको छाला सहित एक जना पक्राउ परेका छन् । राजापुर नगरपालिका–१, दौलतपुरका २७ वर्षीय अरुण सोनाहालाई लोपोन्मुख वन्यजन्तु ओतको छालासहित प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको संयुक्त टोलीले सोनाहालाई लोपोन्मुख वन्यजन्तु ओतको छालासहित पक्राउ गरेको बताए ।
चौधरीले पक्राउ परेका सोनाहालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, गुलरिया पठाइएको जानकारी दिए।






