काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस) तहको परीक्षाको प्रश्न पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित आरोपमा ‘सुलभ सर’ भनेर चिनिने एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। थप ४५ जनालाई निगरानीमा राखिएको स्रोतले जनाएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनपछि आइतबार बिहान उक्त व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।
गत साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्न पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। घटनापछि प्रश्न पत्र चुहावटको विषयले विश्वविद्यालयको परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
प्रश्न पत्र बाहिरिएको घटनापछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिन कार्यालयले समेत आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो।
यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले घटनाको वास्तविकता पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।






