काठमाडौँ । कर्णाली प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले गत शनिवार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलका नेता मंगलबहादुर शाही प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्ने तयारीमा छन्।
मुख्यमन्त्री कँडेलको राजीनामासँगै प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समयसीमा तोकेका थिए ।






