काठमाडौँ । साउन सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनासँग एसिया-प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
भेटमा सञ्चार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक रेडियोको भूमिका, नेपालमा सञ्चारसम्बन्धी कानुनी सुधार तथा नेपालमा आयोजना हुन लागेको एआईबिडीको २४औँ सम्मेलनका विषयमा छलफल भएको छ ।
भेटका क्रममा सञ्चार मन्त्री डा. तिमिल्सिनाले सञ्चार क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान तथा यस्ता सम्मेलनले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालमा आयोजना हुने एआईबिडीको सम्मेलनले सञ्चार क्षेत्रका समसामयिक चुनौती र अवसरबारे बहस गर्ने अवसर प्रदान गर्नुका साथै सरकारले अघि बढाइरहेको सञ्चार कानुन सुधार प्रक्रियालाई समेत उपयोगी पृष्ठपोषण गर्ने बताए ।
“एक दशकअघिको सञ्चार क्षेत्र अहिले निकै परिवर्तन भइसकेको छ, आगामी दिनमा अझ नयाँ आयाम थपिँदै जानेछन् । त्यसैले सरकारले सञ्चार क्षेत्रका लागि नयाँ कानुन निर्माण गर्ने र पुराना कानुन संशोधन गर्ने काम अघि बढाइरहेको सन्दर्भमा नेपालमा हुने सम्मेलनबाट प्राप्त सुझाव नीति निर्माणमा उपयोगी हुने विश्वास लिएका छौँ,” मन्त्री तिमिल्सिनाले भने।
उनले नेपालमा सामुदायिक रेडियोले सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा लोकतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे । रेडियो र टेलिभिजनजस्ता विद्युतीय सञ्चार माध्यमले लोकतन्त्र प्रवर्द्धन, नागरिक सहभागिता वृद्धि तथा उत्तरदायी शासन प्रणाली निर्माणमा प्रभावकारी भूमिका खेल्दै आएको उनको भनाइ थियो ।
सञ्चार मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रले अहिले आर्थिक दिगोपन, प्रविधिगत रूपान्तरण, खस्कँदो विश्वसनीयतालगायतका चुनौती सामना गरिरहेको उल्लेख गर्दै ती चुनौती समाधानका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए । नागरिक पत्रकारिता (सिटिजन जर्नलिज्म) को विस्तार र डिजिटल माध्यमको तीव्र विकाससँगै मुख्य धारका सञ्चारमाध्यमको विश्वसनीयता, व्यावसायिकता र दिगोपनबारे थप गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।
नेपालमा आयोजना हुने एआईबिडीको २४औँ सम्मेलन सफल बनाउन सरकार आयोजक संस्थासँग आवश्यक समन्वय, सहकार्य र सहयोग गर्न तयार रहेको पनि सञ्चार मन्त्री तिमिल्सिनाले बताए ।
यस अवसरमा एआईबिडीकी प्रमुख कार्यकारी अधिकृत फिलोमेना ज्ञानप्रगासमले दक्षिण एसियामा रेडियो अझै पनि प्रभावकारी सञ्चार माध्यमका रूपमा रहेको बताइन् । विशेष गरी नेपालको सामुदायिक रेडियो अभियानले ठूलो जनसमुदायसम्म सूचना पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
उनले मिडिया क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै रेडियो र टेलिभिजनले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सूचना प्रणाली, जलवायु परिवर्तन, मानव अधिकार तथा समसामयिक सामाजिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाइरहेको बताइन् । विपद्को समयमा पूर्व सूचना तथा विश्वसनीय जानकारी प्रवाह गर्ने प्रभावकारी माध्यमका रूपमा विद्युतीय सञ्चार माध्यमको भूमिका अझै पनि महत्त्वपूर्ण रहेको उनले उल्लेख गरिन् ।
एआईबिडीले अन्तर सरकारी संस्थाका रूपमा सदस्य राष्ट्र बिच प्रसारण क्षेत्रको अनुभव, नीति तथा प्रविधि आदानप्रदानमा क्रियाशील रहेको जानकारी दिँदै उनले नेपालमा हुने सम्मेलनले विद्युतीय सञ्चार माध्यमको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अनुभवबीच ज्ञान आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।






